• मंगलबार, ६ चैत्र २०८०
  • images
    images

    सेनापति नहुँदै पछाडि सुराकी

    सेनापति नहुँदै पछाडि सुराकी


    ३ घुम्ती
  • शनिबार, असोज ३० २०७८
  • 7.8K
    SHARES

    काठमाडौँ l ‘म चोर थिइन, डाँका थिइन,’ भर्खरै प्रधानसेनापति नियुक्त प्रशुराम शर्माले अँध्यारो मुख लगाउँदै आफ्ना जर्नेलहरूको बीचमा भने, ‘तर मजस्तो सोझो मान्छेको पछाडि दुई–दुई वर्षसम्म जासुस लगाइयो । बिहान बोलाउने, घण्टौं कुराउने । आखिर किन ? आफ्नै संगठनको एउटा अफिसरमाथि यति धेरै अविश्वास गरेर उहाँले के पाउनुभयो ?’

    केही समयअघि अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले निजी मामिलामा समेत निगरानी राखेर आफ्नो वैयक्तिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै उनकै उत्तराधिकार सम्हालिरहेका प्रभुरामले पिएसओज मिटिङमा यसरी दुखेसो पोखेका हुन् । पूर्णचन्द्रलाई लक्ष्यित गर्दै उनले भने, ‘खाएनन् होला, अनियमितता गर्नेलाई भटाभट कारवाही गर्ने मान्छे राम्रो होलान् भन्ने लागेको थियो । तर, म बहाली भएको दुई–चार दिनमै पेट्रोल पम्प र सस्तो क्यान्टिनले महिनावारी चार लाख घुस दिन ल्यायो । क्या हो केटा हो भनेर हकारेको त, पहिलाकोले लिनुहुन्थ्यो भन्छन् !’

    त्यसो त हिजोआज जंगी अड्डामा चर्चा हुन्छ, ‘हात्तीको देखाउने र चपाउने दाँत’ भनेजस्तो दुईखाले रुपबारे । चर्चाअनुसार, पूर्णचन्द्रले ललितपुर, झम्सिखेलस्थित शशीभवन छाडेर जाँदा उनलाई बदनाम गर्न अरुले प्लेट, काँटा, चम्चा, झ्यालका पर्दा केही बाँकी राखेनन् । बियर, वाइन र ह्वीस्कीका बोत्तलहरू लडिरहेका थिए ।

    बास बसेको ग्राहकले होटल छाड्नुअघि चेकआउट गरेजस्तो सरकारी निवासबाट प्रधानसेनापति बिदा भएर जाने बेलामा ‘क्याम्प कमाण्डिङ’ हुन्छ । एकजना लेफ्टिनेन्ट कर्णेलको कमाण्डमा हुने त्यस्तो चेक आउटका क्रममा सरकारी निवासमा मौज्दात थुप्रै जिन्सीहरू भेटिएनन् । तलका स्टाफले उछिट्याए तर नाम बदनाम भयो घर गैसकेका सेनापतिको । यो कुराको रिपोर्टिङ बहालवाला प्रधानसेनापतिलाई गरिएको छ ।

    पूर्णचन्द्र आफू त जागिर सिध्याएर घर गए, तर कतिपय जर्नेल र कार्यकालभरि सेवा गर्नेहरूका लागि विशेष व्यवस्था भएको रहेछ । उही अवस्थाका कतिपय अफिसरलाई निर्ममताका साथ कारवाही गरेका उनले केहीका निम्ति भने हाइसञ्चो हुने गरी माघमा सकिने म्याद अहिल्यै थप्न रक्षा मन्त्रालयमा लेखेर पठाइदिए । उनको कार्यकालमा हालिमुहाली चलाएका जर्नेलहरू अनन्त कार्की, प्रेम शाहीहरूको हकमा यस्तो भएको हो ।

    भक्तपुर, गुण्डुका एमाले नेता महेश बस्नेतसँग विशेष साँठगाँठ भएका अनन्तको जागिरको म्याद माघसम्म हो । तर, एक वर्ष म्याद थपका लागि आफ्नै कार्यकालमा रक्षालाई लेखेर पठाए । जबकि, अनन्तकै स्थितिका जर्नेल ईश्वरकान्त मैनालीहरू एकतारेबाट दुई तारे नहुँदै घर जान्छन् । उनीहरूलाई मानार्थ दुई तारे जर्नेलको फुली नदिने कुरा लेखेरै पूर्णचन्द्र घर गएको बताइन्छ ।

    प्रभुरामलाई आफूलाई ठीक नलागेका सात पानाको नीतिगत विवरण थमाएका छन् । झंकर कडायतभन्दा अगाडि डिपिआरमा काम गरेका जर्नेल तारा कार्कीलाई घर जाने बेला मानार्थ दिइएको थियो । जबकि, २८ बेसिकको बाहिनी कमाण्ड नगरेको, युएन गएको पदमसिंह ठकुरीलाई मानार्थ दुई तारे दिइयो ।

    तर, विनोद पाण्डे, ईश्वरकान्तहरूलाई अन्याय भएको चर्चा जंगी अड्डामा चल्ने गरेको छ । सागर केसीले लमजुङमा कृषि विद्यालय खोल्नका लागि कल्याणकारीको ४० करोड मिलाइदिएबापत मानार्थ पाए । त्यसो त प्रभुरामको बहालीलगत्तै उपत्यका कमाण्डसँगै नीति तथा योजना प्रमुखको जिम्मेवारी पाएका अशोक सिग्देल, ताराध्वज पाण्डे, सागर केसीहरूले रामकोटमा २० रोपनी जग्गा किनेका छन् । पूर्णचन्द्रका भाइ पर्ने राजेश थापाले विभिन्न कारोबारबाट ६–७ करोड लिएर गएको चर्चा छ ।

    अर्कातिर, ब्रिगेडियर जर्नेल सुशील भण्डारीको नेतृत्वमा लेबनान अनियमितताबारे कोर्ट अफ इन्क्वायरी शुरु भएको छ । त्यहाँ रहँदा युद्धभैरव गणका प्रमुख सेनानी उज्वल थापाले महिला अधिकृतसँग दुव्र्यवहार गरेको उजुरीपछि कोर्ट अफ इन्क्वायरी गठन भएको हो ।

    पुरानाको काइदा

    मातहत युनिटका कोसेलीहरू बुझे पनि विगतका प्रधानसेनापतिहरूले केही न केही काम भने देखाएका थिए । जस्तो कि, धर्मपालवरसिंह थापाले भोजभतेर गर्नका लागि बनाइएको पुरानो क्लबलाई प्रज्वलसमशेर राणाले आर्मी अफिसर्स क्लबमा रुपान्तरण गरे । छत्रमानसिंह गुरुङले खेल मैदान बनाए । त्यसपछिका प्यारजंग थापाले खासै केही बनाएनन् । राजेन्द्र क्षत्रीले टुँडिखेलको प्यारापिट बनाए । पम्प, सस्तो बजारसहित विभिन्न गण, गुल्म, सडक परियोजना र खरिदसम्बन्धी युनिटबाट आउने महिनावारी पैसा जोगाएर काम गरेको देखाउनका लागि उनीहरूले त्यस्तो गरेका हुन् ।

    पहिलाका प्रधानसेनापतिले ‘भ्रष्टाचार गर्दिनँ’ भनेर बोलेनन्, मिलाएर खाए, चलाए । अफिसरमाथि पहिला–पहिला पनि कारवाही हुन्थ्यो । तर, भित्रभित्रै हुन्थ्यो । पछिल्लो पटक चाहिँ पत्रकार बोलाएर, होहल्ला गर्दै कारवाही गरियो । नत्र, भ्रष्टाचारको बात लागेका राजेन्द्र क्षत्रीले अनुज बस्न्यात, नरेश बस्नेतलाई कारवाही गरेकै हुन् । गौरवसमशेरले पनि प्रेमप्रकाश थापा मगर, हेम खत्रीको भविष्य बिगारेकै थिए । 

    images