काठमाडौं । सोलुखुम्बुमा हिमाल आरोहण गर्दा हराएका तीनजना फ्रान्सेली आरोहीको अवस्था पत्ता नलागेको उद्धारकर्ताले जनाएका छन् । सगरमाथा नजिकै रहेको ६ हजार मिटर अग्लो मिंग्बो इगर चढन गएका आरोही जिवित भेटिने सम्भावना नरहेको अल्पाइन तथा माउन्टेन क्लबको फ्रान्सेली महासंघले जनाएको छ । सो महासंघले हिमाल आरोहण त्यागेर फर्किने क्रममा उनीहरु हिमपहिरोमा पुरिएको हुनसक्ने जनाएको छ । ती आरोही हराएका एक हप्ता पुगेको छ । आरोही हराएको ठानिएको छाँगा नजिकै तीनओटा झोला र उपकरण भेटिएका बताइएको छ । यस्तै, म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी जोमसोम लगेको छ ।