बिनोद चौलागाई
झन्डै पछिल्लो एक बर्षको राजनीति देखि न्यायालयसम्मको बितण्डलाई मुल्यांकन गर्नुस् र आफैंमाथि प्रश्न कोर्नुस्– तपाईको गणतन्त्र यहि हो?
राजनीतिको ३६५ डिग्री (दिन)को चित्रलाई आँखाअगाडि उतार्नुस्, परिवारको चेहरा, व्यापार र व्यावसायको अवस्था, देशको मुल्यबृद्धि, महँगी, आत्महत्या, बलात्कार, अपराधको तस्बिरलाई पनि उतार्नुस् र सोध्नुनस्– तपाईको लोकतन्त्र मृत्युन्जय मन्त्र गाउन लायक छ?
यो कसरी भयो? कसले गरायो? किन गरायो? के–के हुँदैछ? कस–कसले खेल्दैछ? यसबीचमा के भयो? को–को वैतर्णी तरिसके, को–को स्वर्गका द्वारमा पुगे, कसले नर्कको बाटो खन्यो? प्रश्न गर्नुस् आफैंसँग अनि उत्तर खोज्नुस् आफैंभित्र।
राज्य त केबल प्रचण्डको स्वार्थसँग न बाझिएको छ, कहिले ओलीकृत राजनीतिक वितण्डा त कहिले देउवाकृत, कहिले राणाकृत काण्डहरूको थुप्रोमा। यी सबै कृतिका नेपथ्यका सर्जक तपाई हाम्रा महान् क्रान्तिकारी, क्रान्ति नायक प्रचण्ड होइनन् र?
यो ३६५ दिनका दौरानमा उनले पटक–पटक भनेका छन्– प्रतिक्रान्तिकारीहरू सल्बलाए, गणतन्त्रलाई खतरा छ। जोखिम छ। जोगाउनुपर्छ। म प्रश्न गर्छु र तपाई पनि त्यहि कोणमा प्रश्न गर्नुहोस्– प्राप्ति भएको डेढ दशकसम्म पनि जोखिममा रहने यो गणतन्त्र किन चाहियो, महान् कामरेड? जोखिम नहुने व्यवस्था के छ? त्यो किन नल्याएको? त्यसका लागि अपिल किन नगरेको?
यो गणतन्त्र नेपाली जनताको होइन। क्रान्तिका नाममा भएका कयन हत्या, त्यसमा मारिएका अवोध व्यक्तिका रगतका टाटाहरु, कसैका धुरीमा अहिले पनि सम्झनाको तरेलीका रुपमा रहेका कात्रोहरूका रङ्गले भन्छ– यो अलपत्र गणतन्त्र नेपाली जनताको होइन, प्रचण्डको हो। यो जोखिममा रहेको व्यवस्था प्रचण्ड हुँदै या प्रचण्डसँगै पनि ढल्नसक्छ। प्रचण्डले आफूलाई जस्तै डायबेटिज लागेको गणतन्त्रलाई निको पार्न सकिरहेका छैनन् त्यसैले त्रसित मुद्रामा आफ्नो नवयुगिन् विरासतका केही बर्षहरूमा रमाउनका लागि प्रतिरक्षा गर्दै भन्छन्– जोखिममा छ, गणतन्त्र।
गणतन्त्र भनेको एक जना मानिसको जीवनलाई पनि जोगाउन सक्नुपर्ने व्यवस्था हो। लोकतान्त्रिक मुल्य र मान्यताको विषयवस्तु, त्यसको पाठ्यक्रम कस्तो बनाउने भन्ने विषयमा जबसम्म मास्टरी पेशाबाट राजनीतिक परिवर्तनका लागि दुनियाँको रगतलाई पानी जसरी बगाएर आएको छ, उसले सोच्नु पर्दैन? यो ३६५ दिनमा कार्यपालिकालाई अस्तव्यस्त बनाइयो, व्यवस्थापिकाको त नामोनिसान नै बर्बाद बनाएर अहिले न्यायपालिकाभित्र राजनीतिक पक्षधरताको अस्तव्यस्तता पछाडिका कारक को हुन्? प्रचण्डको शक्ति मोह होइन?
पात्र अलग हुन सक्छन्, उपयोगका। कहिले ओली, कहिले देउवाको उपयोग गरी व्यवस्थालाई धर्मराएको अवस्थामा राख्ने प्रत्यक्ष र परोक्ष अर्थात् सेमी भिलेन र मेन भिलेनको काम कसले गरिरहेको छ? प्रचण्डले गरेका होइनन्? प्रचण्डले एक जना पनि नागरिकको ज्यान जोगाएको खबर कहिँ सुन्नु भएको छ? यी नेपाली जनजीवनमा राजनीतिका नाममा आधा शताब्दि बर्बाद बनाउने मुख्य कारक हुन्, इतिहासले यीनिमाथि गर्व गर्ने त कुनै सम्भावना नै देखिँदैन। हो, देखिनसक्छ जब यीनी आफू बितेर पनि गणतन्त्रलाई जीवित राख्ने पथमा हिँड्छन्। तर, यसमा पनि सन्देहहरूका थाक छन्।
जसले १७ औं हजार मानिसलाई मर्न र मार्न बाध्य बनायो। खुलामञ्चमा उभिएर ५ हजार मानिस मारेको जिम्मेवारीको औपचारिक घोषणा नै ग¥यो। त्यो नेपाली क्रान्तिको वीर पुरुष, कामरेड प्रचण्डले एक जना मात्रै मानिस बचाएको विषयमा अहिलेसम्म बोल्न सकेका छैनन्। एक जना मानिस उनले बचाएको गर्विलो भाषण अहिलेसम्म सुनिएको छैन। बाँदरमुढेमा ५६ जनाको एउटै चिहान खन्ने कामरेड प्रचण्डले अरुलाई बचाउने त कुरै छाड्नुस अर्ध बैंसमै ज्यान गुमाउने आफ्नी जेठी छोरी र एक मात्र छोरा पनि बचाउन सकेनन्। त्यसैले उनले रगतको खोला बगाएर सम्झौतामा ल्याएको भनिएको गणतन्त्र बचाउन सक्ने छैनन्, त्यसकारण पनि रतन तिरुवाहरूको जुत्ता, पदम कुँवरहरूको झापु उनीतिर सोझिनुलाई अस्वभाविक मान्नु हुँदैन।
शासन व्यवस्था परिवर्तन वा प्रणाली स्थापनाका लागि अपराध र रगतको बाटोलाई क्रान्ति भन्दै समाजमा विग्रहको विउविजन गर्ने प्रचण्डले यस्तो व्यवस्थाका लागि सम्झौता गरे कि त्यो जन्मँदै डायबिटिज भएको छ। भारतीय भूमीमा गरेको १२ कारणको डायबिटिज गणतन्त्रभित्र अनेक रोगको संक्रमण स्वभाविक थियो र यो निर्विकल्प असफल हुने प्रक्षेपण पनि स्वभाविक विन्दुमा पुग्न लागेको छ।
सीपी गजुरेलले एउटा अन्तरवार्तामा भनेको सुनेको थिएँ– प्रचण्ड क्रान्तिका रुपमा उदाएका त थिए तर यो व्यवस्थाभित्र लोभ र सत्ता लालचको यस्तो भाषमा अझ भासिँदै गए कि अब उनीसँग प्रतिरक्षा गर्ने सानो आधार पनि छैन।
यसर्थ नेपालीको भाग्य नेपालीले कोर्ने हो भने जनताले प्रचण्डहरूलाई लखेट्नुपर्छ। तिनलाई समाजको कुनै विन्दुमा पनि स्थान दिनुहुँदैन र नयाँ आयाममा नयाँ जोश भएका नयाँ विकल्पलाई नै अघि सारी परिक्षण गर्नुपर्छ। अन्यथा यो संक्रमित गणतन्त्रले खुट्टा टेक्न सक्नेछैन।