काठमाडौं । ताइवानको एउटा अत्याधुनिक लडाकु विमान, उड्नेबित्तिकै गायब भएको छ । ताइवानको एफ–१६ फाइटर जेट प्रशिक्षण उडानका क्रममा गायब भएको हो ।
समुद्रमाथि उडान भरिरहेका बेला, अत्याधुनिक फाइटर जेट अचानक गायब भएपछि ताइवानमा खैलाबैला भएको छ। सो लडाकु विमानले दक्षिणी ताइवानको चियायी एयर बेसबाट उडान भरेको थियो। यो विमान उडान भरेको केही बेरमै रडार स्क्रिनबाट गायब भएको थियो।
ताइवानका राष्ट्रपति तसाई इङ्ग–वेनले फाइटर जेटको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न आदेश दिएका छन् । सरकारी उद्धार कमाण्ड सेन्टरले केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान समुद्रमा खसेर दुर्घटनामा परेको जनाएको छ ।
यसअघि सन् २०२० मा पनि एउटा एफ–१६ विमान हुएलियन एयर बेसबाट उडान भरेको केही बेरमै गायब भएको थियो।