Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

सशस्त्रमा फेरि हाकिम थप्ने खेल शुरु

सशस्त्रमा फेरि हाकिम थप्ने खेल शुरु

images
  • 31.4K
    SHARES
  • images
    images
    सशस्त्रमा फेरि हाकिम थप्ने खेल शुरु
    images
    images

    काठमाडौँ l सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी थप्न खेल शुरु भएको छ । अहिले दुई वटा दरबन्दी रहेको एआइजीलाई तीन वटा बनाउन बलका महानिरीक्षक शैलेन्द्र खनाल कम्मर कसेर लागेको हल्चोकभरि चर्चा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई दंग पारेर दरबन्दी थप्ने खेल शुरु भएको सुईंको बाहिरिएको हो ।

    images

    डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको नियमानुसार घर जाने म्याद डेढ महिना मात्र बाँकी छ । उनीहरुको तोकिएको पाँच वर्षे म्याद पुग्न लागेको हो । गत वर्ष नै चार वर्षमा एक वर्ष थपेर पाँच वर्ष पुर्याइएकाले अब उनीहरुलाई नियमानुसार पनि थप्न मिल्दैन । डिआइजीको म्याद थप्न नमिल्ने भएपछि राई र श्रेष्ठमध्ये एउटालाई एआइजी बनाउन शक्तिकेन्द्रसम्म लबिङ शुरु भएको बताइन्छ ।

    अहिले काठमाडौंको मातातीर्थस्थित सशस्त्र प्रहरी बलको एकेडेमीमा एपीएफ डेको निम्ति ‘ग्राण्ड परेड’ तयारी भैरहेको छ । परेडमा हजार जनाको कलाकौशल प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवालाई देखाउने रणनीतिअन्तर्गत उक्त योजना बनाइएको हो । कार्यक्रमबाट प्रधानमन्त्रीलाई दंग बनाएर लगत्तै एआइजी थप्ने प्रस्तावलाई क्याबिनेटबाट बेरोकतोक पास गराउने सोच बनाइएको सुनिन्छ ।

    एपीएफ डे माघ ९ गते पर्छ । यसअघिका वर्षमा उक्त दिन तीन सयदेखि बढीमा चार सय जनाको सहभागितामा परेड हुने गरेको थियो । पछिल्लो वर्ष कोरोना महामारीका कारण त्यसरी मनाइएको थिएन । अहिले पनि महामारीको तेस्रो लहरको आशंका गरिएकाले धेरै जनाको भीडमा कार्यक्रम गर्ने हो भने त्यो सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरितको कार्य हुने बताइन्छ । केही सातादेखि मातातीर्थस्थित एकेडेमीको ग्राउण्डमा परेड खेल्नेहरु धेरैजसो हालै भर्ना भएका सशस्त्र प्रहरी हुन् ।

    एपीएफ डेको दिन नयाँ रिक्रुटहरुबाट व्यापक परेड खेलाउने योजना बनाए पनि अहिलेको कोरोना महामारीले साथ नदिने सम्भावना त्यत्तिकै छ । अहिले मुलुकभर संक्रमितको संख्या बिस्तारै बढ्न थालेको छ । जबकि दुई वर्षदेखि सरकारले कुनै पनि ठूलो भेला,सम्मेलन,परेड,झाँकीको आयोजना खुलाएको छैन । सरकारी निकायको सम्बन्धमा त ती विषय झन गर्नै नहुने हुन् ।

    सशस्त्र प्रहरी नेतृत्वले प्रधानमन्त्री देउवाको नजरमा राम्रो परेड खेलाएर र देखाएर दरबन्दी थप्ने तयारीको निम्ति प्रहरीको गणनासमेत गरेको छ । आवश्यक परेमा ककनीस्थित तालिम केन्द्रबाट ल्याएर प्रधानमन्त्रीको उपस्थितिमा सशस्त्रको हालसम्मकै धमाकेदार परेड गराउन खोजिएको हो ।

    यस्तो बेलामा पनि त्यस्तो कार्य गर्न खोज्नुको दुई वटा उद्देश्य रहेको सशस्त्रका एकथरि हाकिमहरुले बताएका छन् । यो नेतृत्वको रकम कलम उठाउने मेसो हो । उनीहरुले मातहत गण,गुल्मबाट रकमकलम उठाउने मेसोको निम्ति अस्वाभाविक परेड गराउन खोजिएको हुनसक्ने अड्कल लगाइएको छ । ‘हामीले यति ठूलो कार्य गरौं,लौ तिमीहरुले पनि योगदान गर,’ भन्नको लागि समेत झाँकीसहितको परेड गराउन खोजिएको बताइएको छ ।

    एकातिर नयाँ रिक्रुटलाई त्यता व्यस्त बनाईंदा उनीहरुको तालिममा समेत असर पर्ने तालिममा संलग्नहरुको बुझाइ छ । यस्तो अवस्थामा जसरी पनि परेड गराउनुको उद्देश्य बुझिनसक्नु छ । एकातिर पैसा उठाउने मेसो,अर्कोतिर कोरोनाको महामारी र अर्को चाकडीलाई एकै चोटी प्रयोग गर्ने प्रयोजन पनि हुनसक्ने भनिएको छ ।

    यसअघि डिआइजी प्रवीण श्रेष्ठ चार वर्षमै घर गएका थिए । उनलाई ओली सरकारले एक वर्ष नथपेपछि अवकाश लिन बाध्य भएका हुन् । प्रमुख खनालले आफू र आफ्ना मान्छेको लागि जे पनि गर्ने भएकाले अहिले सशस्त्र डेको निम्ति गरिएका तयारीले थप आशंका बढाएको हो ।

    अहिले सशस्त्रमा दुई वटा विभाग छन् । ती दुई वटै विभाग एक एक वटा एआइजीको जिम्मामा छ । त्यसैले अब ती विभाग फुटाएर नयाँ दरबन्दी सिर्जना गर्नु भनेको प्रशासनिक अराजकता बढाउनु रहेको प्रशासनविद्हरु बताउँछन् । यस्तो गर्न हुँदैन भनेर सशस्त्र बलभित्रै पनि आवाज उठेको छ । तर कसैले त्यस्तो सुझावलाई टेरपुच्छर लगाएका छैनन् ।

    विभाग फुुटाउन खोजिएको सन्दर्भमा सशस्त्र प्रहरी बलका एक जना भूतपूर्व वरिष्ठ अधिकृतले भने, ‘अहिले सीमा हेर्ने गरी कार्यविभाग रहेकोमा त्यसैलाई फुटाउन लागिएको हुनसक्छ ।’

    उनका अनुसार कार्य भनेको परिचालन हो । सीमा भनेको पनि परिचालन नै हो । कार्य भनेको जिल्लाभित्र र सीमा भनेको बोर्डरमा सशस्त्र प्रहरी बल परिचालन गर्ने भन्ने हो । दुबैको कार्य प्रकृति एउटै छ । ती दुईटा कार्यको जिम्मा रहेको विभागले सो कार्य गर्ने भएकाले सम्बन्धित एआईजी एउटैले कार्य गर्ने गरी विभाग बनाइएको हो ।

    तर अहिले विभाग फुटाउनु खोज्दा विभिन्न अड्चन आउनु स्वाभाविक छ । त्यसो गर्दा तीमध्ये दुई वटा एआईजीको कार्य र जिम्मेवारी नै पुग्दैन । फुटाउनेबित्तिक्कै आधा काम घट्छ । अर्कोतर्फ एकै ठाउँमा दुई जना एआइजीको परिचालन र सरकारी कोषमा करोडौंको व्ययभार पर्ने छ । जुन अनावश्यक कार्य हुन आउँछ ।

    अर्कोतर्फ जसलाई एआईजी बनाउन भनेर सशस्त्रको नेतृत्व जसरी लागेको छ, ती दुबै उक्त पदको लागि योग्य नभएको समकालीनहरु नै बताउँछन् । ‘उनीहरुमा न कमाण्ड कन्ट्रोल राम्रो छ,न अनुशासन नै । उनीहरुको विगतको ट्रयाक रेकर्ड पनि खराब छ,’ उनीहरुकै समकालीनहरुको मूल्याङ्कन हो यो ।

    यता,सशस्त्रले फेरि दुई हजार जनाको नयाँ विज्ञापन गराउन लागेको चर्चा पनि चलाइएको छ । तर ओएण्डएम गरेर दरबन्दी कायम भएपछि मात्र नयाँ भर्ना खुल्ने स्रोत बताउँछ । केही समयअघि विज्ञापन गरिएको चाहिँ पुरानै रिक्त दरबन्दीअन्तर्गतको हो । ७ सय ७० जनाको उक्त विज्ञापनको लिखित परीक्षा भइसकेको छ ।जनआस्था साप्ताहिकमा खबर छ l

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको