काठमाडौं। जनमता पार्टीका अध्यक्ष डा. सीके राउतको हत्या हुनसक्ने भौतिक पूर्वाधार मन्त्री रेणु यादवले चेतावनी दिएकी छन्।
हिंसा भड्काउनेगरी यादवले दिएको चेतावनीले मधेस राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।
बलिदानी दिवसका नाममा गरिएको कार्यक्रममा गौरमा सम्बोधनका लागि पुगेकी यादवलाई जनमत पार्टीका कार्यकर्ताले विरोध गरेपछि एउटा कार्यक्रममा उनले यस्तो चेतावनी दिएकी हुन्।
उनले बुधबार भनेकी छन्,‘राइस मिल अहिले पनि जिवित छ। गौरमा फणा देखाउने प्रयास नगर। यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगरे हुन्छ। यो गौर ऐतिहासिक जिल्ला हो। बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु।’
हिन्दी भाषामा भाषण गरेकी उनले आक्रोशित हुँदै भनेकी थिइन्,‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो। त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन्। नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ, सतर्क रहनुस्।’