काठमाडौं । उत्कृष्ट ढंगले कार्य सम्पादन गरे वापत नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरुसहित १३ उच्च पदस्थ कर्मचारी सम्मानित भएका छन् ।
विभिन्न जिल्ला तथा प्रहरी कार्यालयको कमाण्डमा खटिएका उनीहरुलाई अहोरात्र खटिई कुशलता एवं इमान्दारितापूर्वक कार्य सम्पादन गरे वापत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सम्मान तथा पुरस्कृत गरेको हो ।
यसै अन्तर्गत तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी पुरस्कृत भएका छन् । उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । ६ महिना अगाडि तनहुँ प्रहरीको जिम्मेवारी सम्हालेका रेग्मीले विभिन्न घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कार्वाहीको दायरा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रहरी प्रमुख रेग्मीको निर्देशनमा केही समय अगाडि व्यास ११ स्थित रानी गाउँमा भएको हत्या काण्डमा संलग्न व्यक्तिहरुलाई प्रहरीले २४ घण्टाको अवधिमा प्रकाउ गर्न सफल भएको थियो ।
त्यस्तै यसबर्षको चर्चित काण्ड–पल शाहलाई हिरासतमा लिने क्रममा असहज परिस्थिती सिर्जना हुँदा समेत प्रहरी प्रमुख रेग्मीको नेतृत्वमा रहेको तनहुँ प्रहरीले परिस्थितीलाई सामान्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
यसैगरी बागलुङ जिल्लाको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरेको भन्दै प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली पुरस्कृत भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बागलुङ जिल्लाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिई कुशलता एवं इमान्दारितापूर्वक कार्य सम्पादन गरेकाले तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट प्रउ दयानिधि ज्ञवालीलाई पुरस्कृत गरिएको छ ।
उनीहरुसहित विभिन्न प्रहरी कार्यालयका १३ प्रमुखहरु नगदसहित सम्मानित भएका छन् ।

