पोखरा । पाँच दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी बनेकी छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै गुरुङ दोस्रोकार्यकालका लागि पोखरा महानगरको उपप्रमुखमा विजयी भएकी हुन् ।
गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन्। विसं २०७४ को पहिलोनिर्वाचनमा गुरुङले काँग्रेसका सरस्वती गुरुङलाई पराजित गरेर उपप्रमुख निर्वाचित भएकी थिइन् । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन्। आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन्।
आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए।
यसैगरी, प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरेका छन् ।