काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि सीप,प्रविधि आदानप्रदान सम्बन्धी सम्झौता भएको छ ।
एफएनसीसी भवनमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए ।
सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५/५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।
सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्युनतम ८ घण्टा खेतिमा बिताउनुपर्नेछ । सो कार्यक्रममा नेपाली कृषकलाई सहभागी गराउन पाउनु नेपाली कृषिको लागि महत्वपुर्ण खुट्किलो हुने सभापति सुमार्गीले बताए । उनका अनुसार यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्र्याउन सहज हुने जसले माटो सुहाउँदो उत्पादनमा सहज र उल्लेख्य वृद्धिको अपेक्षा लिइएको छ ।
कल्चरल सेन्टरका मुनले इपिएसबाट मार्फत कोरिया गएका नेपाली कामदारले गरेको कामबाट आफू प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्र्याउन नेपाली कृषक लैजान आफुहरु तयार रहेको बताए ।
सम्झौता समारोहमा कृषि उद्यम केन्द्रका सिइओ डा. दिनेश पराजुली, कोरियामा व्यवसाय गर्दै आएका नेपाली ग्लोबल मल्टी कल्चरल सेन्टरका सदस्य गम्भिर श्रेष्ठ लगायतको उपस्थिती थियो ।