Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images

देश विकासमा वैदेशिक ब्यापार नीति

देश विकासमा वैदेशिक ब्यापार नीति

images
images
  • चैत्र २८, २०७३ सोमवार ०६:५१ बजे
  • 4.8K
    SHARES
  • images
    images
    images

    नेपालको बर्तमान आर्थिक अवस्था खस्कदोँ छ । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको भएपनि यसले गुणात्मक उपलब्धि दिन सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । दिनाँनुदिनको राजनैतिक किचलो तथा अस्थिरता विध्यमान छ । ब्यापार घाटा र आर्थिक मन्दीले देशको अर्थतन्त्र नै चौपट भएको छ । वैदेशिक व्यापारको शिलाशिलामा  विश्वका करिब ११५ भन्दा बढी मुलुकसित नेपालले बस्तु आयात तथा निर्यात गर्दै आएको छ । यो प्रकारको आँकडा भएपनि झन्डै ६८ देशमा मात्र नेपाली बस्तु निर्यात हुन्छन् । 

    images


     केही वर्ष यता नेपालको वैदेशिक व्यापार असन्तुलित रहेको बताइन्छ  । आयात ह्वातै बढेको छ भने निर्यात घटेको छ । यसको अर्थ मुलुकको परनिर्भरता बढ्नु हो । धेरै बस्तुहरुमा हाम्रो परनिर्भरता छ । यस अवस्थामा नेपालको आर्थिक भविष्य राम्रो छैन भन्दा पनि फरक नपर्ला । राजनैतिक अस्थिरता र सधैंको बन्द– हडतालको अलावा चन्दा आतङ्कले व्यापारीहरु त्रसित छन् । चन्दाको मारमा व्यापारीहरु देखिएपनि गरिव दुखि जनताबाटै अप्रत्यक्ष रुपमा असुलउपर गरिरहेका हुन्छन् । जसको मारमा नेपाली गरिव जनता नै पर्ने हुन् । यसको निराकरणका लागि राज्य स्तरबाट चासो पुगेको देखिदैन ।


    नेपाली बजारलाई नजिकबाट नियाल्ने हो भने यसको अवस्था दिनप्रतिदिन गिर्दो छ । बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पिडित छन् । नयाँ प्रविधी नयाँ तौल तरिकाको अभावले जति लागतमा जति उत्पादन हुनु पर्ने हो त्यो भन्दा कयौ गुना बढी लागत लाउनु पर्ने भएकोले उत्पादनमा लागत बढेको हुन्छ । मूल्यको तुलनाले पनि विदेशी उत्पादनसित नेपालमा उत्पादित बस्तुले प्रतिस्पर्धा गर्न मुश्किल पर्छ । अनि निर्यातमा कमी आउछ ।  बिदेशी बजारको माग पहिचान गरी सो बमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिदैन ।

    त्यसैगरि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ । यसको निम्ति न राज्य पक्ष न नेपाली उद्यमी कसैले पनि खासै जागर देखाएका छैनन् । उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुनुपर्छ । तव मात्र निर्यात हुने बस्तुहरुले उचित बजार र प्रतिस्पर्धात्मक हुन सक्छन् ।
    नेपालले आफ्नो दिगो विकास र उन्नत आर्थिक सम्वृद्धिका लागि आयातभन्दा निर्यात बढी बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । यहाँ निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैचा तथा तयारी पोशाकको ठूलो माग रहेको छ । यसका अलावा छालाबाट बनेका सामाग्री जस्तै जुत्ता ब्याग पंजा लगायतका सजावटका सामानहरु र जुट, हस्तकला लगायतका सामग्री, चिया, घ्यू, कागजले पनि उत्तिकै हिस्सा रहेको छ भनिन्छ । यसर्थ यस्ता प्रकारका वस्तु उत्पादन र पैठारीमा नेपालले उत्पादकलाई सहि सहुलियतमा ऋण उपलव्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्ने जस्ता कामहरु गर्न सके भावि नेपालको बैदेशिक व्यापार उभो लाग्न सक्छ । 


     अहिले नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेला बखत प्रश्न  उठ्ने  गरेको सुनिन्छ । एक अर्काको प्रतिस्पर्धी रहेको विश्व बजारमा ठूलो प्रतिस्पर्धा हुने गर्छ । बस्तुको गुणस्तर महत्त्वपूर्ण कुरा हो । हामीले उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पुर्याउन सक्नु पर्दछ । बरु थोरै उत्पादन होस् तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पुर्याएन भने बजारमा खपत हुन गाह्यो हुन्छ । नेपालले उत्पादन गर्ने बस्तुहरुको प्राय सबै कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । अब भने नेपालले पनि आफ्ना प्राकृतिक श्रोतको उत्खनन् गर्न सक्नु पर्दछ । जसले बस्तुको उत्पादन लागत घटाउन मद्धत पुर्याउछ । नेपालले यो क्षेत्रमा दिर्घकालिन उत्पादन योजना मुताविक काम गरेको पाइदैन । तत्काललाई भन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनु पर्दछ ।  जुन वस्तुको उत्पादन हुन्छ लामो समयसम्म स्थायी हुने वातावरण निर्माण गर्नुपर्दछ । 


    नेपालले निर्यात वृद्धि गर्न गुणस्तरयुक्त सामान उत्पादन हुनु आवश्यक छ । यसका निम्ति दक्ष जनशक्ति, मेसिन तथा औजार र आवश्यक लगानी चाहिन्छ । आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नु पर्छ  । यसको निम्ति सरकारले विकास खर्च बढाउनुपर्छ । विकास खर्चमा छुट्याएको रकम योजना अवधि भित्र विकासमा खर्च गरेको हुनुपर्छ । त्यस्ता विकास योजनाको खाका पनि तयार गर्नुपर्छ । केहि समय यताका सरकारहरु विकासमा खर्चमा गर्न असफल छन् ।  


    नेपालमा उत्पादन भएको ऊनी गलैचाको ७५ प्रतिशत जर्मनीमा खपत हुन्छ भने सम्पूर्ण तयारी पोशाकको ८० प्रतिशत खपत अमेरिकाले मात्रै गरिरहेको बर्तमान परिवेशलाई बुझेर बाँकि देशहरुमा पनि व्यापार बढाउन पहल कदमी लिनु पर्ने देखिन्छ । नजिकको छिमेकि देश भारततर्फ भने कृषिमा आधारित वस्तु निर्यात हुने गर्थे । तर बर्तमान परिस्थितिमा भारतबाट नेपालमा कृषि जन्य वस्तुहरुको आयात बढ्दै गएको छ । बंलादेश, श्रीलड्ढा, इटली, बेलायत, फ्रान्स, बेल्जियम स्विटजरल्यान्ड लगायतमा नेपाली समान निर्यात हुने हुँदा त्यस्ता देशको बजारलाई मध्य नजर गर्दै बस्तुको उत्पादन गरिनु पर्दछ । तर आजभोली नेपालको निर्यातमा कमी आएको छ । यस अवस्थामा निर्यातमा कमी आउने कारण के के हुन् ? सो को पहिचान गरी सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्छ । जसमा राज्य पक्षको ध्यान जानु जरुरी रहन्छ ।


    नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुको पछि धेरै कारणहरु छन् । देशले सहि र दिर्घकालिन सोच भएको राजनेता पाउन नसक्नु पनि एउटा कारण हुन सक्छ । नेपाल एउटा  भुपरिवेष्ठित मुलूक हुनु पनि अर्को कारण हो । हाल सम्म भएका कमजोर पारवहन समस्याले निर्यातमा ठूलो समस्या खडा गरेको देखिन्छ । भएका सम्झौदाको पनि उल्लेख्य उपभोग गर्न हामीले सकेका छैनौ । सम्झौतामा कतै न कतै हामी तल पर्ने खालका सम्झौता भएका हुन्छन् , भएका सम्झौताको फाइदा विकशित देशले उठाउने गरेका छन् । छिमेकी देश सितको अस्पष्ट व्यापार नीति र आवश्यक ऐन कानुन लगायतको अभावले  नेपालको वैदेशिक व्यापार प्रतिकूलताको शिकार भएको पाइन्छ । 


    यस्ता खालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरुकता देखाउन सकेको देखिदैन । राज्य स्तरबाट पहल कदमी नभए सम्म वैदेशिक व्यापारमा विस्तार तथा सुधार हुन सक्दैन । वैदेशिक व्यापारमा सुधार नआए सम्म नेपालको आर्थिक अवस्था माथि उठ्न सक्दैन ।


     हामीमा के पनि छ भने आफ्नो नराम्रो अरुको उत्पादन राम्रो लाग्ने वा ठान्ने प्रवृति छ । जसले समग्र देशको आम्दानी घटाउछ । आफ्नो देशको उत्पादन हामी आफैं मन पराउदैनौं । विदेशी बस्तु नै रुचाउँने हाम्रो आदत नै बनेको छ । जब हामी आफ्नो उत्पादनमा आफै विश्वस्त छैनौं भने अरूले कसरी विश्वास गर्छ ? बिदेशीले खरिद गरेन भने विदेशी व्यापार बढ्ने सम्भावना रहदैन । नेपालको अधिकांश ठूला साना योजनाहरू भारतीय र चिनियाँ निर्माण कम्पनीहरूले लिएका छन् । उनीहरूले सम्पूर्ण आवश्यक सामग्री आफ्नै देशबाट ल्याउने गर्दछन् । त्यतिमात्र होइन आवश्यक जनशक्ति पनि उत्तैबाट ल्याउने गर्दछन् । अझ चिनियाँ नागरिकमा अपनत्व बढी पाइन्छ भरसक यहाँ आएका चिनियाँ नागरिकले आफ्नो किनमेलमा चिनियाँ उत्पादन नै खोज्नु यसको उदाहरण हो । यस कुराले एउटा नागरिक आफ्नो राष्ट्रियतामा गम्भीर रहेको र आर्थिक विकासमा सजग रहेको पुष्टि हुन्छ ।

    हामी नेपालीमा पनि यस्तो भावना विकसित नभएसम्म आर्थिक विकास सम्भव छैन । यसको लागि प्रथमत स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता हुनुपर्याे । यसको एउटा गतिलो योजना यो हुन सक्छ पहिले स्वदेशी वस्तु सरकारी कर्मचारीका लागि अनिवार्य गराउनु पर्छ । त्यस पछि अरूलाई पनि नैतिक दबाब पर्छ । यसो गर्दा केही अधिकारहरूको सवाल उठ्न सक्छन् तर कुनै पनि अधिकार आर्थिक सबलताबिना पूरा नहुने चेतनाको विकास गराउन सकियो भने यो आफै समाधान हुन सक्छ । आर्थिक सबलताको पूर्वाधारलाई नै प्राथमिकतामा राख्न सकियो भने हामीले परिकल्पना गरेको भन्दा माथि हाम्रो आर्थिक अबस्था उठ्न धेरै समय लाग्दैन  ।

    images

    सम्बन्धित समाचार
    धेरै पढिएको