काठमाडौँ – मेडिकल सामाग्रीको व्यावसायमा सफल युवा व्यावसायी होमप्रसाद (मुकुन्द) गौतमलाई राज्यले तेस्रो पटक सम्मानित गरेको छ। आर्थिक वर्षमा धेरै आयकर तिरेका कारण उनलाई आन्तरिक राजश्व अन्तर्गत करदाता कार्यालय भक्तपुरले बुधबार सम्मान गरेको हो। उत्कृष्ट करदाता तथा कर्मचारी सम्मान कार्यक्रममा सम्मानित गौतमले हरेक वर्ष इमान्दारिताका साथ राज्यलाई कर तिर्दै आएका छन्। उनलाई यस पटकको सम्मान भने हर्षविभोर पार्ने संयोग पनि बन्यो।
समाज सेवामा सक्रिय रहेका गौतम भन्छन्,‘कर दिवसका अवसरमा गरिएको यो सम्मानको महत्व यसै पनि थियो, आजै जन्मदिन परेका कारण सुनमा सुगन्ध भएको छ।’विपन्न वर्गका समुदायलाई आफ्नो गृह जिल्ला काभ्रेपलाञ्चोकमा सहयोग गर्दै आएका मृदुभाषी ३५ बर्षिय गौतम थप्छन्,‘इमान्दारीताका साथ कर्म गर्दा सफलताको बाटो त समातिन्छ नै राज्यले पनि सम्मान गर्छ। यो निरन्तर तेस्रो पटक मलाई कदर गरिएको छ। यस्तै सेवा गरिरहन मन छ।’
उनले यो आर्थिक बर्षमा एक करोड ५६ लाख भन्दा बढी राजश्व राज्यलाई तिरेका छन्। भक्तपुर जिल्लामा नै उत्कृष्ट आयकर तिर्ने जीएच मेडिहेल्थ कन्सर्न प्रालिका सञ्चालक गौतमलाई विपन्न र दिनदुखीलाई सहयोग, शिक्षा स्वास्थ्यमा पहुँच बनाउन समन्वय गर्ने हुटहुटी पनि हुँदै आएको छ। उनको व्यावसाय कुनै व्यापार मात्र नभएर सेवामुखी काम पनि भएको अधिकारीहरूले टिप्पणी गर्दै आएका छन्।